आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

बिमान दुर्घटना छानबिन गर्न आयोग गठन,भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग  गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

समिति सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले जहाज दुर्घटनाको शोकमा (भोलि) बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए ।

समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्ने सञ्चारमन्त्री गुरुङले बताए । समितिलाई ४५ दिनको समय दिइएको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस