राजीनामा नदिने प्रष्ट अडान राख्दै गृहमन्त्रीले भने : मैले पनि न्याय पाउनुपर्ला नि ?
समाज खबर संवाददाता |

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार साँझ पत्रकार सम्मेलन गरी गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।उनले आफूविरुद्धको नियोजित र षड्यन्त्रमूलक आक्रमण भएको बताए । उनले भने, ‘यसमा मेरो कुनै संलग्नता छैन। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ।’उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक भएकाले सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको बताए । विपक्ष दलहरूले संसदमा बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरेका हुन् । गृहमन्त्रीको राजीनामालाई लिएर दुई दिनदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन् ।उनले मातहतका कर्मचारी छानबिनको दायरमा आँउदा मन्त्रीले राजीनामा दिने बिधि बसाल्न खोजेको हो भन्दै प्रतिप्रश्न गरे । उनले आँफूले पनि न्याय पाउनुपर्ने होला नि भन्दै प्रश्न पनि गरेका थिए ।
प्रतिकृया दिनुहोस