बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको ब्रिफिङ - अध्यादेश सहमतिमै आएको हो, चर्चा गर्न जरुरी छैन
समाज खबर संवाददाता |
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँग छलफल कार्यप्रगतिबारे ब्रिफिङ लिएका छन् ।बिहीबार आफ्नै निवासमा सभापति देउवाले सरकारका कामकारबाहीबारे मन्त्रीहरुसँग जानकारी लिएका हुन् । त्यसक्रममा मन्त्रीहरुले सोचेअनुरूप काम गर्न नसकेको गुनासो गरेका थिए ।जवाफमा नेताहरुले यसलाई मिलेर समाधान गर्ने आश्वासन दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।त्यस्तै मन्त्रीहरुसँग अध्यादेशकाबारेमा पनि छलफल भएको थियो । बैठकमा महामन्त्री गगन थापाले अध्यादेश सहमतिमै आएकाले यसबारेमा नकारात्मक धारणा बनाउन आवश्यक नभएको बताएका थिए ।मन्त्री चौधरीले भने, ‘बैठकमा अध्यादेशको विषयमा पनि छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यूले पनि पोजेटिभ रूपमा लिनुपर्छ भन्नुभएको छ । हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन।’छलफलका क्रममा शीर्ष नेताहरुले कांग्रेसले लिएका मन्त्रालयमार्फत जनतालाई डेलिभरी दिने गरी काम गर्न निर्देशन दिएको चौधरीले बताए ।छलफलमा सभापति देउवाकासाथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी थिए ।
प्रतिकृया दिनुहोस