इजरायल- हमासबीच युद्धबिराम,छुट्लान बिपीन जोशी ?
समाज खबर संवाददाता |
बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ । सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले युद्धविराम आइतबारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरायली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् । ६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ । भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ ।
हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको बताइन्छ । राष्ट्रपति बाइडनले यस सम्झौता इजरायली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनःस्थापनाको अवसर रहेको बताएका छन् ।
उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन् ।हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजार भन्दाबढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपीन जोशी पनि छन् । अब उनको पनि रिहाई हुने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस