आज : Saturday, July 19, 2025 | २०८२ श्रावण ३ शनिबार

सुनकोशी–मरिण डाइभर्सनको काम कछुवा गतिमा, सांसद दाहालले पोखे सरकारमाथि आक्रोश 

समाज खबर संवाददाता |

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले सरकारको कडा आलोचना गरेका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै त्यसयता अहिलेसम्म परियोजनामा खासै प्रगति नभएको आक्रोश पोखेका हुन्।तराई–मधेसका पाँच जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने, ३१दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने, खानेपानीको व्यवस्थापन गर्ने र वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा प्रगति नहुनुमा सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनले औल्याएका छन् ।१३ अर्ब रुपैयाँ चर्को ब्याजमा ऋण लिएर खर्च भइसकेको जनाउँदै दाहालले कामको प्रगति अत्यन्तै न्यून रहेको बताएका छन्।उनका अनुसार बाँध निर्माणको ठेक्का पाएको पटेल रमण निर्माण कम्पनीले अहिलेसम्म ५९ प्रतिशत काम सम्पन्न गर्नु पर्नेमा  २ प्रतिशत मात्र काम सम्पन्न गरेको छ।उनले  ३२ करोड मात्र भुक्तानी गर्नु पर्ने कम्पनीलाई १ अर्ब ९७ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको दाबी गरेका छन्।सांसद दाहालले पटक–पटक संसद् र मन्त्रालयमा आवाज उठाएर इच्छुक निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐनअनुसार ठेक्का दिने सहमति भएको भए पनि त्यसको पालना नभएको बताएका छन्।उनले ऊर्जा मन्त्री दीपक खड्कामाथि पनि प्रश्न उठाउँदै भनेका छन्, “मन्त्रीज्यू फिल्ड अनुगमनमा जानुहुन्छ, तर ठेकेदारसँग भेट हुनेबित्तिकै ठेक्का नतोड्नूु भन्ने निर्देशन मातहत निकायलाई दिनुहुन्छ।” उनले प्रश्न गरे किन होला यस्तो ? दाहालले आयोजना अवरोध गर्नेलाई पहिचान गर्नुपर्ने बताएका छन् ।  “मधेसका जनप्रतिनिधि र आम जनता मिलेर यस्ता तरमारूहरूलाई तह लगाउनुपर्छ ।” उनले भनेका छन् ।उनले मधेसमा तत्काल पानी र रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न पनि सरकारसँग माग गरेका छन्।परियोजनामा सुरुङ खन्ने काम चीनको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी ले पूरा गरिसकेको छ । तर बांध, विद्युत गृह र प्रसारण लाइन निर्माण चरणमा  अझै समेत पर्याप्त गति छैन।बाँध र विद्युत गृह निर्माणका जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली रमण कन्स्ट्रक्सनको संयुक्त ठेक्का पाएको भए पनि ती काम निर्धारित समयमा अघि बढेको छैन ।
 

प्रतिकृया दिनुहोस