खानेपानी मन्त्री भन्छन् :मेलम्चीको पानी बाह्रै महिना काठमाण्डौं ल्याउने तयारी छ
समाज खबर संवाददाता |
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुनेगरी काम भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै गरिदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए । उनले भने,‘बिगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गथ्र्यो, अब हामीले वर्षातको समयभरी नै मेलम्चीको पानी सुचारु गर्नेगरी काम सुरु गरेका छौँ । आउँदो वर्षबाट बाह्रै महिना नै मेलाम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन् ।’ मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए । उनले भने,‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट बिकट गाउँ बस्तिमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँ सराइँ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।’
प्रतिकृया दिनुहोस