आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाज खबर संवाददाता |


झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा अवलोकनकर्ताको भिड बढिरहेको छ । उनले त्यहाँबाट बिक्री भएका उत्पादनहरुमा ६ महिनाको वारेन्टी दिने गरेको बताए ।  
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेका छन् ।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य आयोजकले राखेको छ । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ८ वटा कम्पनीका १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ । तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ ।
महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहेको छ । महोत्सवमा कोशी प्रदेश र भारतको पश्चिम बंगालबाट समेत अवलोकनकर्ता आउने गरेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस