रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर
समाज खबर संवाददाता |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलन गरेकोसहित ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते प्रतिवादीहरूबारे रायसहितको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अध्ययनपछि अभियोगपत्र तयार गरी अदालतमा पेश गरिएको हो । अभियोगपत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ । यसअघि पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । सहकारी ठगी अभियोगमा लामिछाने ६५ लाख धरौटी बुझाएर र जोशी ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए। रूपन्देहीमा पूरक अभियोग दर्ता भएसँगै थुनछेक बहस हुनेछ । यसका साथै, चितवन र पर्साका अन्य सहकारी प्रकरणमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ ।लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गरेको थियो ।
प्रतिकृया दिनुहोस