ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोज्दैछन् :रावल
समाज खबर संवाददाता |
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन् । बुधबार पत्रकार सम्मेलन गरी रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । उनले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध फितलो भएको आरोप लगाए ।
उनले भ्रष्टाचार र हिनामिनामा मुछिएकाहरुलाई जोगाउने काम ओलीले गरेको भन्दै आक्रोश पोखे । रावलले प्रधानमन्त्री ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोपसमेत लगाए ।उनले पार्टीमा रहँदा आफूले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको दाबी गरे । उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त नभएको गुनासो गरे ।उनले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गरे । आफ्नो व्यक्तिगत स्वार्थ नरहेको भन्दै उनले देश र जनताको पक्षमा निरन्तर खट्ने बताए । रावलले ओलीमा झुटा कुरामा लत बसेको आरोप लगाए ।उनले भने, ‘म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई शपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट शपथ लिएन भनेर प्रचार गराइएको होइन र ?’रावलले ओलीविरुद्ध उम्मेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए । उनले भने, ‘मलाई अध्यक्षमा उम्मेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध तपाईंले किन उमेदवारी दिएको ?’उनले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे । पुुस १० गते बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गरेको थियो ।रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि साधारण सदस्य समेत नरहने गरी एमालेले कारबाही गरेको हो । त्यसपछि रावलले पत्रकार सम्मेलन गरेका हुन् । रावल नयाँ पार्टी गठनको तयारीमा छन् ।
प्रतिकृया दिनुहोस