आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, कांग्रेसले बिपीको योगदानको स्मरण गर्दै
समाज खबर संवाददाता |
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्कनुभएको हो ।विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस