आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

पृथ्वीराजमार्गको डाँडाकोनाक देखी बिजयपुरसम्मको एकतर्फी सडक एकमहिना भित्र कालोपत्रे हुने 

समाज खबर संवाददाता |


पोखरा ,
पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं. २६ डाँडाको नाक देखी बिजयपुरसम्मको सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले कामलाई तिव्रता दिएको छ । 
डाँडाकोनाक प्रहरीचौकी देखी विजयपुर व्यारेकतर्फको साइड एक महिनामा कालोपत्रे गर्नेगरी कामलाई तिव्रता दिएको हो । 
डाँडाको नाक देखी बिजयपुरसम्म तीन किलोमिटर सडक मध्ये ६ लेण्ड तर्फको २ दशमलव ५ किलोमिटर सडकको एकतर्फी कालोपत्रे एक महिना भित्र सक्ने गरी काम भैरहेको ठेक्का संझौता गरेको चिनिया कम्पनी आनहुई खाईयुआन हाईवेय एण्ड ब्रिज कम्पनी लिमिटेडले जनाएको छ । 
आयोजनाको उक्त खण्डमा निर्माणका क्रममा देखिने समस्या समाधानका लागि वडा नं. २६ को कार्यालयमा आयोजना निर्माण कम्पनीका प्रतिनिधि र जनप्रतिनिधिका विच शनिवार छलफल भएको थियो । 
छलफलमा वडा अध्यक्ष नरेन्द्र थापाले वडा नं. २६ भित्र आयोजनालाई आईपर्ने जुनसुकै समस्या पनि तत्काल समाधान गरि निर्माण कार्यलाई सहजीकरण गरिने बताए । 
अन्तराष्ट्रिय निर्माण कम्पनीले काम गरेकाले सोही अनुसारको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्दै, अध्यक्ष थापाले सडक विस्तारलाई अवरोध गरेका विद्युत र टेलिफोनका पोलहरु तीन दिन भित्र हटाउने निर्णय समेत भएको उल्लेख गरे । 
अध्यक्ष थापाले सडकमा रहेका खाल्डा पुर्ने, बाटो र नाला निर्माण गर्दा अवरुद्ध भएका सहायक मार्गमा यातायात संचालन गर्ने र सडक निर्माण गर्दा धुलो उड्ने समस्यालाई समाधान गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको बताए । 
छलफलमा तालचोक देखी पोखराको सेतीसम्मको सडक खण्डका आयोजना म्यानेजर छ्वाङ जोन ताओ, साईट इन्चार्ज छन् जि लाङ र इन्जिनिर अनुप श्रेष्ठले स्थायीनको समस्या समाधान गरी आयोजनाको उक्त खण्ड निर्धारित समयमा सक्ने प्रतिवद्धता जनाएका थिए । 
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विकास चौधरी र टेलिकम तालचोकमा प्रमुख सुवास पौडेलले पोलका कारण सडक निर्माणमा ढिलाई नहुने स्पष्ट पारे । 
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले आयोजना निर्माणबाट खानेपानी आपूर्तिमा प्रभाव नपर्नेगरी कार्य गर्न आग्रह गरेका थिए । 
छलफल कार्यक्रममा वडा नं। २६ का जनप्रतिनिधिहरु लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, वडाका इञ्जिनियर बिकास सुवेदी, सव इञ्जिनियर संकल्प ढुंगाना र अमिन दिवाकर सुवेदीको सहभागिता रहेको थियो । 
आयोजनाको निर्माणका क्रममा विद्युत तथा टोलिफोनको समस्या र जनगुनासो सम्वोधनका लागि वडा सदस्य सुदिपराज ढुंगाना, त्यसैगरी खाल्डो पुर्र्ने र धुलो व्यवस्थापनका लागि तिर्थबहादुर राजभाट र खानेपानीको समस्याका लागि लक्ष्मीदेवी भट्टराईलाई फोकल पर्सन तोकिएको छ । आयोजनाबाट खाल्डा पुर्ने र धुलो व्यवस्थापनका लागि इञ्जिनियर अनुप श्रेष्ठ, विद्युतको समस्याका लागि इञ्जिनियर बिकास चौधरी, खानेपानीका लागि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानालाई समन्वयनको जिम्मेवारी समेत बैठकले तोकेको छ ।

प्रतिकृया दिनुहोस