आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

‘संवेदनशील विपत्ति’मा असंवेदनशील ओली  

जीवन काफ्ले - |

प्राकृतिक बिपत्तिमा परि २ सय जना नेपालीको दुखद निधन भएको र लाखौ जनताको उठिवास भएको अबस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्कदा बिमानस्थलमा भिआइपिहरुको लाबालस्कर र तामझाम देखियो । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख,मन्त्रीहरु लगायतका बिशिष्ट ब्यक्तिले प्रधानमन्त्री ओलीलाई स्वागत गरे । प्रधानमन्त्री ओली बिजयी भावमा अभिबादन गरिरहेका थिए भने मन्त्रीहरु हसमुख देखिन्थे । कुनै पनि सरकार प्रमुख बिदेशमा औपचारिक भ्रमणबाट फर्किदा स्वागत गर्ने बिषय सामान्य शिष्टता भित्रै पर्ने कुरा हो । तर देशले भयानक विपत्ति सामना गर्दा प्रधानमन्त्री स्वदेश फर्कन ढिलो गरेको भनि आलोचना भैरहँदा बिमानस्थलमा देखिएको त्यो तामझामले पीडितहरुलाई गिज्याएजस्तो देखिन्थ्यो । नेपाली सेनाको टुकडीले सम्मान गर्ने पनि आफ्नै परम्परा भित्रको बिषय होला तर पनि देश शोकमा डुबेको बेला यो सबै औपचारिक कार्यक्रम नगरौं भनि स्वयं प्रधानमन्त्री ओलीले आग्रह गरेर छिटो बालुवाटार पुगेको भए के बिग्रन्थ्यो ? झन् अत्यासलाग्दो बिषय त यो भयो कि प्रधानमन्त्री ओलीले स्वदेश फर्किएर पत्रकारहरुको प्रश्नको सामना गर्दा असंवेदनशील सुनिए । उनको जवाफ आक्रोश मिश्रित थियो । 
औपचारिक प्रेस बिज्ञप्तिमा मृतकहरुप्रति श्रद्धान्जलि, परिवारजनमा समवेदना ब्यक्त गरिएपनि पत्रकारहरुको प्रश्नको जवाफ दिँदा भने ओली सिगौंरि खेल्ने शैलीमा उत्रिएका थिए ।  विपदको पूर्व तयारी नपुगेको बिषयमा  सोाधिएको प्रश्नमा ओली झनै   असंवेदनशील  देखिए उनले भने  रेड एलर्ट जारी गरिएको थियो “तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।” भ्रमणको उपलब्धिबारे पनि उनले आँफू भैंसी दुहुन नगएको भन्दै प्रश्नप्रति बिमति राख्दै रोष पोखेका थिए ।  
 उनी पत्रकार सम्मेलनमा बोलिरहँदा  पहिरोमा पनि ज्यान गुमाएका एन्फा एकेडेमीका फुटबलरहरुको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै थियो । त्यहि समयमा यात्राका क्रममा बिचल्लिमा परेका सयौं सर्वसाधारण भोकभोकै खाली खुट्टा हिँडेर कोसौं टाढाबाट काठमाण्डौं भित्रदै थिए । हो, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बाजा बजाएर आँउदैन ।तर राज्यले जुन स्तरको पूर्व तयारी, उद्धारमा तदारुकता देखाउनु पथ्र्यो त्यो  बि ल्कुल गर्न सकेन । राज्य शक्तिको सम्पूर्ण श्रोत साधन केन्द्रीत राजधानीमा मन्त्री निवास नजिकै नख्खु खोलाको बिचमा टिनको छाप्रोमाथि नागरिकले चार घण्टासम्म गुहार माग्दा पनि राज्य निरीह बन्यो । 
हेलिकोप्टर उडाउन भिजिबिलिटी नभएको भनि गृहमन्त्री रमेश लेखकको जवाफ आलोच्य बन्यो भने धेरैले सरकारकै भिजिबिलिटी नभएको भन्दै रोष पोखे । प्रधानमन्त्रीको अनुपस्थितिमा कामकाज चलाउने गरि तोकिएका कार्यवाहक प्रधानमन्त्री प्रकाशनमान सिंहले पनि अनुभूति हुने गरि कार्य कौशल प्रदर्शन गर्न सकेनन् ।  उनी पनि कुहिरोको काग जस्तै भए । 
सरकार भनेको राज्यको अभिभाबक हो । दुख पर्दा  राज्य छ भन्ने अनुभूति दिन नसक्ने त्यो सरकार हुन सक्दैन, र यस्तो विपत्तिमा सरकारको तयारी पुगने, राज्य गम्भीर देखिएन भन्ने प्रश्नलाई प्रधानमन्त्रीले बिरोधका लागि बिरोध भनेर पन्छिन मिल्दैन । त्यसैपनि यो सरकारको जग भनेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । सरकार बन्ने अनेक खेलबाट जनता वाक्क दिक्क भएको भनि अचाक्ली आलोचना भैरहँदा स्थिरताका लागि भन्दै निर्माण भएको सरकार झन् गैर जिम्मेवार बन्न मिल्दै मिल्दैन । प्रधानमन्त्री ओली गैर जिम्मेवार भए भने काँग्रेसले निःसन्देह प्रश्न गर्नुपर्छ, सच्चिन दबाब दिनुपर्छ । सुध्रिएर जनताको घाउमा मलम पट्टी लगाउन केन्द्रित हुनुपर्छ । विपत्तिमा लड्ने भनेका सिंगो राज्य संयन्त्र हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कतिपय साहसी नागरिकले आफ्नो बलबुताले भ्याएसम्म गरे । तर उनीहरुलाई पनि साधन श्रोत सम्पन्न बनाउने बिषय, यथासक्य छिटो निर्देशन दिने बिषय ,नीतिगत निर्णयको बिषय राजनीतिक नेतृत्वबाटै हुनुपर्छ ।समयमै त्यस्तो हुन नसक्दा समग्र राज्यको डेलिभरीमाथि प्रश्न उठ्छ । र यसपटक त्यस्तै भयो ।  
प्रधानमन्त्री ओली त भ्रमण छोट्याएर फर्किएनन्नै कर्मचारी प्रशासनको कमाण्ड सम्हाल्ने मुख्यसचिव एकनारायण अर्याल पनि विपत्तिको बेला गृह जिल्ला स्याङजामा आँफू मूख्य सचिव भएको बधाई थाप्न ब्यस्त थिए भने राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद् ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बेलायत भ्रमणमा थिए । जिम्मेवार अधिकारीहरुनै गैर जिम्मेवार बन्दा उद्धारमा कतै न कतै समन्वयमा अभाव देखियो । जस्का कारण सरकारले नागरिक स्तरबाट आलोचना खेप्नु पर्यो । अझै पनि तहसनहस भएका दर्जनौं राजमार्ग सहज बनाउने,घाइतेहरुको उपचार,पीडितलाई राहत एव पुनस्थापना,कृत्रिम मूल्यबृद्धि नियन्त्रण जस्ता बिषयमा सरकार संवेदनशिल बन्नैपर्छ होइन भने जनतामा चुलिदै गएको आक्रोशको ज्वालाले क कस्लाई लपेट्छ त्यो समयले उजागर गर्ने नै छ  । चेतना भया । 
 

प्रतिकृया दिनुहोस