आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

के स्वतन्त्रता पत्रकारलाई मात्रै चाहिएको हो ?

समाज खबर संवाददाता |

माइतीघर मण्डलामा उभिएर पत्रकारहरुले सरकारको धरपकडको विरोध जनाएका छन् । समाचार र सूचनामा व्यस्त हुनुपर्ने पत्रकार आफैं माइतीघर मण्डला किन उत्रनुपर्यो ? पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेको घटना एउटा संयोग मात्रै हो, सरकारको कामगराईले पत्रकारलाई अलि पहिले नै सडकमा ओराल्नुपर्ने थियो । सत्ताका लागि आलोचना सधैं अप्रिय हुन्छ । अझ बहुमतको दम्भले शासकलाई मिडियाप्रति निकै पूर्वाग्रही बनाइदिन्छ । अहिले केपी ओली नेतृत्वको सरकारमा यही विशेषता क्रियाशील भएको हो । 

नेपालका पत्रकारहरुले पञ्चायतमात्रै होइन प्रजातन्त्रकालमै जुनसुकै पार्टीको सरकार आएपनि चुनौती व्यहोर्दै आएका छन् । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेपनि व्यवहारमा प्रेस स्वतन्त्रतालाई ‘अंकुश’ लगाउन सरकार निरन्तर उद्यत छ । समाचार लेखेको भरमा पत्रकार, कविता लेखेको भरमा कवि र स्टाटस लेखेको भरमा आम नागरिक पक्राउ पर्ने क्रम बढीरहेको छ । विद्युतीय अपराध ऐनका नाममा प्रेस स्वतन्त्रताको शीरमा तरबार झुण्ड्याएर होस् वा सजायको डण्डा देखाएर नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने क्रम बढेको छ । पत्रकारहरुले निरन्तर यसको आलोचना गर्दै आएका छन् तर ऐन बखतमा पत्रकारबीचको वैचारिक विभेदले उनीहरुलाई ‘सत्तापक्ष’ र ‘विपक्षी’ को कित्तामा उभ्याइदिन्छ । यहीकारण प्रेस स्वतन्त्रताको लडाईं विस्तारै मियोविहीन बन्ने खतरा देखिएको छ । 

संविधानमा रहेका प्रतिबन्धात्मक वाक्यांश हटाउन नेपाल पत्रकार महासंघले माग गर्दै आएको छ । प्रेस स्वतन्त्रतालाई किन्तु र परन्तुको घेराबन्दीमा पारेर सिध्याउने चलखेलविरुद्ध सशक्त आन्दोलन भने हुन सकेको छैन । पत्रकारका लागि मात्रै स्वतन्त्रता चाहिएको होइन । पत्रकारले उपयोग गर्न चाहेको प्रेस स्वतन्त्रता प्रकारान्तरले नागरिक अधिकारको रक्षाकवच हो । त्यसैले पत्रकारका जायज मागमा नागरिक समाजको समर्थन जरुरी छ । त्यो भन्दा पहिले पत्रकारले दलीय स्वार्थ छाडेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिन जरुरी छ । 

प्रतिकृया दिनुहोस