आज : Tuesday, July 15, 2025 | २०८२ असार ३१ मंगलबार

घुसकाण्डमा मुछिएका मन्त्री बर्खास्त गर्नुपर्छ : महामन्त्री थापा

समाज खबर संवाददाता |

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् ।

कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले सोमबार आयोजना गरेको ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा महामन्त्री थापाले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरेका हुन् ।मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।‘तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो । तर गर्नुपर्यो । यसमा संलग्न भएका अरूको पनि खोजी गर्नुपर्छ।’कानुनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने, कुनै पार्टी वा अन्य नाममा छुट दिन नहुनेमा उनको जोड थियो । संविधान संशोधनका क्रममा न्यायपालिकालाई पुनःसंरचना गरिनुपर्ने पनि महामन्त्री थापाले बताए ।नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको समूहले बनाएको प्रतिवेदन लागू गरेर न्यायपालिका पुनःसंरचना गरिनुपर्ने उनको धारणा छ ।अनुशासनका नाममा पार्टीभित्र पछिल्लोपटक गरिएको कारबाही कोतपर्वको अर्को रुप भएको पनि महामन्त्री थापाले उल्लेख गरे । यसले पार्टीलाई कमजोर बनाउने र सत्प्रयासलाई बल नपुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस