सभामुख घिमिरेद्धारा अरब संसदका अध्यक्षलाई पत्र, विपीन जोशी रिहाइको आग्रह
समाज खबर संवाददाता |
काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शिघ्र रिहाइका लागि अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन् ।सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्षलाई पत्र लेख्दै विपिनको शिघ्र रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।सभामुखले पत्रमा भनेका छन्, ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु ।’पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ ।सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् ।बिहीबार राति परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि इरानी विदेशमन्त्रीलाई टेलिफोन गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।जवाफमा इरानी विदेशमन्त्रीले आफूले यसबारेमा हमासका प्रतिनिधिसँग कुरा गर्ने बताएका छन् । विपिनको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहे पनि उनको रिहाइ भने भएको छैन ।
प्रतिकृया दिनुहोस