आज : Wednesday, January 08, 2025 | २०८१ पौष २४ बुधबार

माओवादीले भन्यो :संसद अधिवेशन नबोलाउनुमा सरकारको बदयिनत

समाज खबर संवाददाता |

काठमाडौँ । माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संसदको अधिवेशन पछि धकेलेर दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला त्यसको विरोध गर्दै बैठक बोलाउन माग गरेको हो ।  कांग्रेस–एमाले गठबन्धन सरकारले अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समितिले आपत्ति जनाएको छ । सरकार अस्थिरता ल्याउन उल्टो बाटोमा हिँडेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकार संसद् बोलाउनुपर्नेमा अध्यादेशको बाटोमा अघि बढ्न खोजेको र दल फुटाउने षड्यन्त्रमा लागेको बैठकमा बताएका थिए । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाउन सरकारलाई दबाब दिने बताए । ‘सरकारले संसद् आह्वान गर्न आनाकानी गरेको छ । अब संसद् बैठक बोलाउन दबाब दिनुपर्छ । यतिबेला दलसबन्धी अध्यादेश ल्याउने कुरा गलत छ,’ उनले भने, ‘दल विभाजन गरी सरकार निरंकुश बाटोमा हिँड्न खोजेको छ । हाम्रो पार्टीले त्यसको सशक्त विरोध गर्छ ।’ बैठकमा दाहालले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामलाई ओली सरकारले अवरुद्ध गरेको आरोप लगाएका छन् । त्यसको प्रतिवाद गर्न कार्यक्रम बनाउने बताएका छन् । मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने निर्णय पुस २१ देखि सुरु हुने केन्द्रीय समितिले गर्ने जानकारी पनि दाहालले दिएका थिए । 

प्रतिकृया दिनुहोस