आज : Saturday, June 28, 2025 | २०८२ असार १४ शनिबार

छानबिन समिति बनेपछि भिजिट भिसाको दीर्घकालीन समाधान हुन्छ : गृहमन्त्री

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभालाई जानकारी गराएको छ ।मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले समिति गठनकाबारेमा जानकारी गराएका हुन् । त्यसक्रममा गृहमन्त्री लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने दाबी गरे । उनले समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने बताए ।समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको उनले जानकारी दिए ।समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए ।उनले भने, ‘यो समस्यालाई हामी सबै मिलेर दीर्घकालीन रूपमा निराकरण गर्ने हो। त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश र समिति बनेको छ।’सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । गृहमन्त्रीले समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने बताए। उनले समितिको ९ वटा कार्यादेश तयार गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस