७२ जिल्ला लिजमा दिऊँ भन्ने अमरेशको भनाईले संसदमा लफडा, रेकर्डबाट हटाउन सभामुखको रुलिङ
समाज खबर संवाददाता |

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि आइतबारको प्रतिनिधिसभा बैठकमा विवाद भएको छ ।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सांसद सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।
त्यसै सन्दर्भमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘ड्यास छाडेर तल जानू’ भनी निर्देशन दिए । सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन् ।
यस्तो छ अमरेशको भनाई
संसद्मा सांसद सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको बताएका थिए ।
उनले भने, ‘नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि चार–पाँच जिल्ला भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिउँ अर्को देशलाई । अमेरिका, चाइना, भारतलाई दिउँ । बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ? कर लिनका लागि मात्रै राख्ने ?’
सांसद सिंहको भनाइप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सिंहले भने, ’गाभिदिऔं भनेको छैन, लिजमा दिऔं भनेको छु ।’
खासमा सिंह प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट पठाएको भन्दै आक्रोशित भएका हुन् ।
प्रतिकृया दिनुहोस