एमालेको सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणा
समाज खबर संवाददाता |

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा फर्किने घोषणा गरेकी छन् । शनिबार मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले गरेको जबजका तीन दशक विचार कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किने घोषणा गरेकी हुन् ।
उनले यसका लागि आफूले पार्टी सदस्यता नविकरण गरेको जानकारी दिएकी छन् । उनले भनिन्, ‘देश र जनताको लागि पार्टी सदस्यता नविकरण गरेको छु । म नेकपा एमालेको परिवारको सदस्यका रुपमा जोडिएको छु र यसमा गर्व गर्दछु । जननेताले राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्नुहुन्थ्यो । यो भनाईलाई आदर्श मानेर म समर्पित भइरहेको छु । समयको पदचापलाई आत्मसाथ राखेर अघि बढ्नेछु । सबैको माया पाउने विश्वास छ ।’
उनले आफूले राजनीति सुरु गर्दा नै आफ्नो जीवन देश र जनताको लागि दिन्छु भनेर वाचा गरेकाले राजनीतिबाट टाढा रहन नसक्ने बताइन् ।
उनले भनिन्, ‘मेरो राजनीतिक जीवनकाबारेमा मेरा बारेमा चर्चा परिचर्चा भइरहेको देखेको छु र पढेको छु र यसबाट निष्कर्षमा पुगेको छु । त्यस विषयलाई मैले स्पष्ट पार्नुपर्छ भन्ने लागेको छ । जननेताको निधनपछि मलाई काठमाडौंको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनायो । मेरो पहिलो जन्म मातापिताबाट भयो भने मेरो दोस्रो जन्म काठमाडौंका जनताले दिए भन्ने मैले अनुभूति गरेको थिएँ । पार्टीको भरोसा र जनताको छोरीकोरुपमा चुनाव जितें । त्यतिबेलै आफ्नो जीवन देश र जनताको लागि दिन्छु भनेको थिएँ । जीवनभर पार्टीमा लागेर देश र जनताको सेवा लाग्ने प्रण गरेको थिएँ ।’
उनीअघि बोलेका प्रधानमन्त्री ओलीले भने यहाँ कुनै बम नपड्किने बताएका थिए । तर पूर्वराष्ट्रपति भण्डारीको यो घोषणा ओलीको अपेक्षा विपरीत भएको स्पष्ट भएको छ ।
प्रतिकृया दिनुहोस