भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी नगरे हुन्छ : प्रचण्ड
समाज खबर संवाददाता |

मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् ।शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा पार्टीको नगर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजालाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।उनले पूर्वराजालाई मूर्ति चोर र ‘भाइमारा’ को आरोपसमेत लगाए । उनले दरबार हत्याकाण्डको योजनाकार को भन्ने नेपाली जनतालाई थाहा भएको बताए । प्रचण्डले कसैको उक्साहटमा फेरि टाउको उठाउने मुर्खता नगर्नसमेत पूवराजालाई चेतावनी दिए ।उनले भने, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ ।’उनले दुस्साहसलाई माओवादीले ‘इँटाको जवाफ पत्थरले दिने’ चेतवानी दिए । उनले भने, ‘२५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’प्रचण्डले आफूले ५ वर्ष शासन पाएको भए दरबार हत्याकाण्डको पर्दाफास गर्ने बताए । उनले, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्छ भनेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’ उनले जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।
प्रतिकृया दिनुहोस