ब्यवस्था बदलियो भन्नेहरुले अबस्था बदल्न सकेनन् : पूर्व राजा
समाज खबर संवाददाता |

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’
देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन् ।
उनले आफूहरूले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाए। अहिलेको व्यवस्थाले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान गरिरहेको उनको आरोप छ।
'प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो,' उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रतिकृया दिनुहोस