स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयको बिरोधमा आवासिय चिकित्सकहरु सडकमा
समाज खबर संवाददाता |
काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईका निर्णयविरुद्ध आवासीय चिकित्सकहरू सडकमा ओर्लिएका छन् । बुधबार उनीहरूले काठमाडौंको माइतीघर मण्डल र देशभरका विभिन्न अस्पतालमा विरोध प्रदर्शन गरिएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले जनाएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष समेत रहेका मन्त्रीद्वयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई २५ हजार देखि ३५ हजारसम्म मासिक निर्वाह भत्ता निर्णय गरेका थिए । त्यस्तै दुई वर्ष काम गर्ने सर्तमा निःशुल्क एमडी एमएस लगायतका विषय अध्ययन गर्न पाउने निर्णय समेत उनीहरूले गरेका थिए । आवासीय चिकित्सकहरुले उक्त निर्णय मान्य नहुने बताएका छन् । मासिक आठौं तह बराबर (४८ हजार) निर्वाह भत्ता पाउनुपर्ने र ड्युटीको समयावधि तोकिनुपर्ने आवीय चिकित्सकको माग छ । माग पूरा नभए अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू बहिष्कार गर्न तयार रहन पनि संर्घष समितिले अपिल गरेको छ । मेडिकल कलेजमा श्रम शोषण रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्नु परेको समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए । मन्त्रीद्वयले चिकित्सकहरूको अपमान हुने निर्णय गरेको उनले बताए ।
‘इन्टर्न, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सरकारीसरह कायम गर्नुपर्छ,’ उनले भने, ‘पीजी कार्यक्रम शुल्करहित र पढाइ पूरा गरेपछि सेवा गर्नुपर्ने रहित बनाउनुपर्छ ।’ माइतीघर र काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा समेत चिकित्सकहरू एप्रोनसहित प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिकृया दिनुहोस