आज पनि सकिएन रवि बिरुद्धको थुनछेक बहस, आइतवार फेरि बहस हुने
समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस नसकिएपछि आइतवार पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको छ । लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा गत आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका वकिल र लामिछानेका तर्फ बाट बहस भएको हो । सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।
प्रतिकृया दिनुहोस