अंग्रेजी नयाँ बर्षको दिन जनमतले मनायो धोती दिवस
समाज खबर संवाददाता |
काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले मात्र मनाउने भेषभुषा नभएको बताएका छन् । उनले आज सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् । उनले भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाँही कुनै एउटा एकल जातजातीले मात्र मनाउने भेषभुषा दिवस होइन । सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपि त कसैले धोती लगाएका छन् ।’ साथै, उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे । कार्यक्रममा सबैजना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए । उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिकृया दिनुहोस