मनाङे डिल्लीबजार कारागार चलान
समाज खबर संवाददाता |
काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङलाई अदालतमा उपस्थित गराएपछि कारागार पठाइको छ । काठमाण्डौं जिल्ला अदालत फैसला कार्यान्वयन अधिकारीले उनलाई डिल्लीबजार कारागार पठाएका हुन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सितापाइलाबाट पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको थियो । ज्यान मार्ने उद्योगको कसुरमा मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो ।यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेर हात छिनाइदिएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बने भने पटक–पटक मन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस