आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

फ्लोर क्रस गरेका गण्डकीका ऊर्जामन्त्री देवकोटालाई माओवादीले गर्यो कारवाही

समाज खबर संवाददाता |

पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटाका सांसद पद गुमेको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए । तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।

फ्लोर क्रस गरेकामा कारबाही

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ । नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेर जितेका थिए । उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको दाबी गर्दै आएका छन् ।  माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटा गण्डकीमा उर्जा मन्त्री बनेका थिए । 

प्रतिकृया दिनुहोस