आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

पहिलो औपचारिक बिदेश भ्रमणका रुपमा राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

समाज खबर संवाददाता |

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा जाने कार्यक्रम छ । भ्रमणमा उनका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी छिन् । राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।  उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को)  उद्घघाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आर्इएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । 
त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । 
स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट  जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । 
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । 
यसका  साथै, त्यसैगरी असार २ गते गैर आवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्नेछन् । 
त्यसैगरी असार ३ गते जर्मनी टे«ड एण्ड इनभेष्ट आवद्ध उद्योगी व्यापारीहरूले राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ पदाधिकारीहरू  कुटनीतिक नियोगका अधिकारीहरूको उपस्थित थियो ।  राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने छन् । 

प्रतिकृया दिनुहोस