आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेको माग

समाज खबर संवाददाता |

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने बताए ।

उनले भने, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ ।”

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आउनुभएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भन्नुभएका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताए । साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे ।

“भारत भ्रमणमा केके भयो ? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार होे । यो संसद्ले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ ।”

सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि उस्तै रहेपनि प्रधानमन्त्रीले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस