आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न: गिरिबन्धुको फाइल कहिले खुल्छ ?

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसद ज्ञानेन्द्र शाहीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले फाइल खोल्छौं खोल्छौं भन्ने तर फाइल खोल्ने काम नभएको भन्दै तत्काल फाइल खोल्न माग गरेका हुन् ।

उनले ठूला फाइल खोल्छु भन्ने गृहमन्त्री अहिले मौन बसेको भन्दै आपत्ति जनाए । उनले ठूला फाइल खोल्छौं भन्ने सरकारले जीबी राईलाई नेपाल देशभन्दा पनि माथि राखेको आरोप लगाए ।

उनले भने, ‘गिरिबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ? सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै प्रदेशको मुख्यमन्त्री सरह व्यवहार भएको बताए । उनले भने, ‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ। त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन्।’

उनले भारतीय प्रधानमन्त्री आउँदा नेपालमा विमानस्थलमा ताजझाम र सडक नै बन्द गरिने गरेको भएकोबारे पनि प्रश्न उठाए ।

प्रतिकृया दिनुहोस