आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

नगरपालिका र डाक्टहरुबीचको द्धन्द्धले बिरामी बिचल्लीमा, देवचुली अस्पतालमा सेवा ठप्प,नगरप्रमुख ब्यक्तिगत काममा पोखरामा 

समाज खबर संवाददाता |


पोखरा । नवलपरासी वर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका वडा नं ३ मा रहेको देवचुली नगर अस्पताल दुम्कौलीका चिकित्सकहरुको हड्तालका कारण सेवा प्रभावित भएको छ । ढाक्टरहरुले गत बिहिबारदेखि  आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका थिए । अस्पतालमा ड्युटीमा खटिएको समयमा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले चिकित्सकहरु माथि राम्रो व्यवहार नगरेको र फोनबाट गाली गलौच गर्दै झुठा आरोप लगाएको भन्दै डाक्टरहरुले सेवा नै बन्द गरेका थिए । शुक्रबार एक एफएमसँगको कुराकानीमा देवचुली नगर अस्पतालमा कार्यरत ओपिडि प्रमुख डा राजिब सापकोटाले २४ सैं घण्टा बिरामीहरुको सेवामा खटिएका चिकित्सकहरु माथि पहिले देखि नै नगर स्वास्थ्य शाखा प्रमुखको अभिब्यक्ति ठिक नभएको र चिकित्सकहरुको निर्णय माथि पटक–पटक प्रश्न गर्ने गरेको बताएका थिए । बिहिबार नगर अस्पतालका आकस्मिक बिभाग प्रमुख डा प्रशान्त श्रेष्ठलाई फोनमा  गाली  गलौच गरेपछि आँफूहरुले विज्ञप्ती निकाल्न बाध्य भएको डा सापकोटाले बताएका छन् । उनले अस्पताल भित्र रहेका मेसिनको त्रुटिका कारण आँफूहरुले केहि रिपोर्ट अस्पताल बाहिर पठाउने गरिएको तर उक्त विषयलाई लिएर अनावश्यक प्रश्न गरिएको बताएका छन् ।
यता देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले डाक्टरहरुको विज्ञप्तीलाई सोही दिन खण्डन गर्दै रिपार्ट प्राइभेट अस्पतालमा पठाउनुपर्ने भनेपछि नगरबाट मान्य नहुने बताएका थिए । उनले सेवाग्राहीहरुबाट सामान्य रिपोर्टहरु डाक्टरहरुले प्राइभेट अस्पतालमा पठाउने गरेको गुनासो आएपछि बिहिबार अस्पतालमा कार्यरत डा प्रशान्त श्रेष्ठलाई फोन गरेर अस्पतालमा चेकजाँच गरिएको रिपोर्ट बाहिर नपठाउन  चेतावनी दिए पछि उक्त विषय विवादित  बनेको थियो । त्यो बिषय अस्पतालका डक्टरहरुले एक विज्ञप्ती निकाल्दै सामाजिक सञ्जालको बिभिन्न ग्रुपमा राखिदिएपछि  झन तरङ्गित बनेको हो ।
अस्पतालमा डाक्टरहरुले नगर स्वास्थ्य प्रमुखले आँफूहरुसँग माफी माग्नुपर्ने अडान राखेका थिए । अस्पताल समितिको पटक–पटकको बैठक पछि पनि अहिलेसम्म बैठकले पूर्णता पाउन सकेको छैन । ५ दिन भैसक्दा पनि अस्पतालमा आकस्मिक सेवा बाहेक डाक्टरहरुले ओपिडि सेवा बन्द गर्दा सेवाग्राही मर्कामा परेका छन् ।सो बिषयमा डाक्टरहरुसँग सम्पर्क गर्दा सञ्चारमाध्यममा थप कुरा बताउन राजी भएनन् । उनीहरुले आँफूहरुको समस्यालाई सम्बोधन नगरेको र समस्यालाई पन्छ्याउन खोजिएको भन्दै कुरा राख्न चाहेनन् । डाक्टरहरुले आँफूहरु अस्पतालमा सेवा दिन जान तयार भएपनि अस्पताल प्रशासनले अस्पताल समितिका अध्यक्ष समेत रहेका नगरप्रमुखको लिखित पत्र लिएर मात्र सेवामा हाजिर हुन भनेपछि नगरप्रमुखको अनुपस्थितिमा हाजिर हुन पाएका छैनन् ।
यता देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले पछिल्लो बैठकमा आँफूलाई उपस्थित नगराइएको र  नगरप्रमुखसम्म विवादको बिषय पुगेकाले आँफूले यस विषयमा बोल्नुको कुनै औचित्य नभएको बताए ।
देवचुली नगर अस्पतालका कार्यालय प्रमुख चित्रबहादुर सुनारले अस्पतालमा कार्यरत डाक्टरहरुले देवचुली नगरपालिकाका नगरप्रमुखद्वारा हस्ताक्षरित लिखित सिफारिस बुझाएपछि मात्रै डाक्टरहरुलाई नियमित ड्युटिमा हाजिर गराईने बताए ।
नगर अस्पतालमा भएका पछिल्ला गतिविधिका विषयमा हामीले अस्पताल समितिका अध्यक्ष एवम् देवचुली नगरपालिकाका नगरप्रमुख हरि न्यौपानेलाई सम्पर्क गरेका थियौँ । देवचुलीकै एक विद्यालयको मुद्धाको फैसलाका लागि पोखरा पुगेका नगरप्रमुखले डाक्टरहरुलाई छलफलका लागि बैठकमा बोलाउँदा उपस्थित नभएको बताए । डाक्टरहरुले पाँचै जना बोलाए मात्रै बैठकमा उपस्थित हुने भनेपछि लिखित स्पष्टिकरण माग गरिएको थियो । समितिले छात्रवृत्ति करार र समिति करारका डाक्टरहरुलाई छुट्टा छुट्टै बैठकमा बोलाएको थियो । त्यसपछि बसेको समितिको अर्को बैठकले पनि निर्णय गर्न नसक्दा सो विषयको टुङगो लाग्न नसकेको समितिका एक सदस्यले बताए । सोमबार देवचुली नगरपालिकाका उपप्रमुख सहितको नगरपालिकामा बैठक बसेपनि आँफूलाई उक्त विषयमा गरिएको कुनै पनि निर्णय जानकारी नभएको नगरप्रमुख न्यौपानेले बताए । नगरप्रमुख न्यौपानेले अस्पतालको सेवा रोक्न नहुने भन्दै अन्य स्वास्थकर्मीबाट सेवा सुचारु भएपनि यस विषयलाई आँफू पोखराबाट फर्किएपछि मात्रै निकास दिने जानकारी दिए । अस्पताल भित्र भएका अनियमितता, राजनीतिक हस्तक्षेप र औषधिमा हुने भ्रष्ट्रचारलाई आँफूले छानविन गरि अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।
नगरप्रमुखको अनुपस्थितिमा सोमबार बसेको बैठकको विषयमा   उपप्रमुख पार्वता तिवारीलाई सम्पर्क गर्दा उनले आँफू अस्वस्थ भएको बताइन् । उपप्रमुखले आँफू नगर अस्पतालको विषयमा कुरा गर्न तत्काल असमर्थ रहेको जानकारी दिइन् । अस्पतालका अध्यक्ष, सदस्य सचिव, स्वास्थ्य शाखा प्रमुख बाहेकको नगर उपप्रमुख, नगर प्रवक्ता र प्रमुख प्रशासकीय अधिकृत तथा डाक्टरहरुको उपस्थितिमा भएको छलफल अनुसार डाक्टरहरु काममा फर्काउने मौखिक निर्णय भएको बताइए पनि अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुखले असहमती जनाएपछि डाक्टरहरु काममा फर्किन पाएनन् ।
मानव जीवनको संवेदनशिल पक्ष स्वास्थ्य प्रति पटक–पटक देवचुली नगर अस्पतालमा हेलचेक््रयाइँ हुँदा स्थानीयले  सास्ती पाइरहेका छन् । बेला–बेला नगर अस्पतालमा हुने विभिन्न किसिमका घटनामा भित्रभित्र राजनीतिक चलखेल भएको स्थानीयको गुनासो छ । सामाजिक सञ्जाल देखि विभिन्न संचार माध्यममा नगर अस्पतालको उक्त विषयलाई लिएर ब्यापक  आलोचना भइरहेको छ । दैनिक ३ देखि ४ सय भन्दा बढि बिरामी आउने नगर अस्पतालमा अहिले डाक्टरहरु नहुँदा केहि अन्य कर्मचारीबाट सेवा प्रवाह भइरहेको छ ।११ न वडा अध्यक्ष एव नगर प्रवक्ता तिलप्रसाद काफ्लेले भने नगरपालिका र अस्पतालका डाक्टरबीच कुनै विवाद नभएको र सेवा सुचारु भएको दाबी गरे । 


 

प्रतिकृया दिनुहोस