आज : Saturday, June 28, 2025 | २०८२ असार १४ शनिबार

उद्घाटन भयो ग्वार्को फ्लाई ओभर,जाम कम हुने अपेक्षा

समाज खबर संवाददाता |

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो ।गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् ।दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको छ । बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ ।यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको थियो ।

 

प्रतिकृया दिनुहोस