क्यानडाको टोरन्टोमा बिमान पल्टियो,केहि यात्री घाइते
समाज खबर संवाददाता |

बीबीसी । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएको छ । त्यसक्रममा केही यात्रुहरू घाइते भएका छन् ।
अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एयरलाइन्सको उडानमा सवार रहेका सबै ८० जनाको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ ।
अनलाइनहरूमा राखिएका नाटकीय भिडियो फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालिरहेको देखिन्छ ।
प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म थाहा नभए तापनि ‘अधिकांश यात्रु सकुशल रहेको’ जनाएको छ । १८ जनालाई अस्पताल पुर्याइएको छ। एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ ।
क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले आफूले यस ‘गम्भीर घटना’ को निगरानी गरिरहेको बताएकी छन् । विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले मानवीय क्षति नहुनुमा आपत्कालीन सेवाका मानिसहरूको चुस्त प्रतिकार्यलाई श्रेय दिइन् ।
यतिखेर टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडो छ र तीव्र गतिको हावा पनि चलिरहेको छ। त्यहाँ एक साताको अन्तरालमा दुई वटा हिम आँधी पनि चलेका थिए । बुधवार र शनिबार आएका दुई हिम आँधीले सहरमा ३०–५० सेन्टिमिटर हिउँ जमेका छन् ।
घटनाअघि विमानस्थलले सोमबार १ हजार भन्दा धेरै उडानमा १ लाख ३० हजार भन्दा धेरै यात्रुहरू उड्ने तालिका रहेको भन्दै एक ‘व्यस्त दिन’ हुने अपेक्षा गरिएको जनाएको थियो । सो विमानस्थलले सप्ताहान्तदेखि सोमवारसम्म सयौँ उडान रद्द र तालिका सार्ने काम गरिरहेको थियो ।
प्रतिकृया दिनुहोस