मैले हाच्छिउँ गर्दा पनि आइसियूमा बसेको फोटो हाल्छन् :ओली
समाज खबर संवाददाता |

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छनत् ।भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।“अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”
प्रतिकृया दिनुहोस