ओली सरकार बनेपछि प्रतिपक्षीसंग संवाद हुन छोड्यो : प्रचण्ड
समाज खबर संवाददाता |
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफू प्रधानमन्त्री हुँदा प्रतिपक्षी दलसंग संवाद गरेरै अघि बढेको भन्दै अहिले ओली सरकार नेतृत्वमा आएपछि प्रतिपक्षी दलसंग संवाद हुन छाडेको गुनासो गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा देशको समस्या समाधान गर्न राजनीतिक दलहरुबीच धेरै बैठक राखेको स्मरण गरे ।उनले भने, ‘अहिले प्रतिपक्षसँग संवाद हुँदैन । संवाद गर्नेभन्दा पनि अहिले भन्ने गरिएको छ, सत्तामा हुँदा एउटा कुरा प्रतिपक्षमा हुँदा अर्को कुरा । हामीले विगतदेखि नै यो कुरा देखेको हो, तर मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको विषयमा प्रधानमन्त्री हुँदा पनि यही कुरा भनिराखेको थिएँ । अहिले पनि तीनै नारा र मुद्दा लिएर जनताको बीचमा गएको छु ।’ सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बर्ताए ।
प्रतिकृया दिनुहोस