आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले भने,‘उपसभामुखको कदमले संसदलाई नै अपामानित गरेको छ । शिर झुकाएको छ ।’

उनले उपसभामुखलाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने बताए । उनले सत्तारूढ दलको साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने जानकारी दिए । बैठकमा कांग्रेसका केही नेताले भने उपसभामुखलाई दुई तिहाइले हटाउने प्रक्रिया अघि गम्भीर भएर सोच्नुपर्ने बताएका थिए ।

बैठकमा नेता अर्जुननरसिंह केसीले पदीय आचरणको कुरा गरेर दुई तिहाइले हटाउन सक्ने भए पनि त्यसअघि पार्टीले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन् । पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुख रानालाई राजीनामा दिन एमालेका सांसदले मंगलबारको संसद बैठकमा दबाब बढाएका थिए ।

पाँच युवालाई अमेरिका जान भिसा अन्तर्वार्ताका लागि समय अगाडि सारिदिन माग गर्दै रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् । उपसभामुखलाई हटाउन सत्तापक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस