एसइई परीक्षाको सबै तयारी पूरा ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
समाज खबर संवाददाता |

भक्तपुर । बिहीबार शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र प्रश्नपत्र, उत्तरपुस्तिका जिल्ला जिल्लामा पुर्याइएको जानकारी दिए। बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ।
पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन्।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ।
यस वर्षको एसईई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेस्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।
जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई नैकेन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा शुरू हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।
प्रतिकृया दिनुहोस