खरानीको डल्लो, प्रचण्ड उथलपुथल र ओलीको कुल्ला
फागुन १६ गते बिराटनगरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए -माओवादी कांग्रेस गठबन्धन खरानीको डल्लो हो,सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यस्को एक साता नबित्दै ओलीले भने जस्तै खरानीको डल्लो फुट्यो र फेरि ओली त्यस्तै अर्कै खरानीको डल्लो बनाउन खोज्दैछन् तर उनको नयाँ परिभाषा हुने छ अब खरानीको होइन चट्टानको पहाड बन्ने छ । ओलीको सत्ता बाहिर रहनुपर्दाको छट्पटी, प्रचण्डको जसरी पनि प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहनुपर्ने बाध्यता, रास्वपाको जसरी पनि सरकारमा जार्ने पर्ने हुटहुटी, लगायतका स्वार्थको गठजोडले पुरानो खरानीको डल्लो त फुट्यो तर नयाँ पनि त्यस्तै भन्दा फरक हुने देखिँदेन । प्रतिनिधि सभाको अंकगणितले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अबस्थामा एक अर्का दलको सहयोगमा सरकार गठन गर्नु स्बभाबिक हो । यो बिश्वब्यापी अभ्यास पनि हो । तर हामीकहाँ तेस्रो दल ( जसलाई ३२ सिटे) भनिन्छ उस्ले पहिलो र दोस्रो ठूलो दललाई जसरी बल्छी थापिरहेको छ यो प्रवृत्ति अन्त हुनै पर्छ । नभए देशले दीर्घकालीन रुपमा ठूलो क्षति बेहोर्नुृ पर्ने छ । राजनीतिमा जे पनि सम्भव छ भन्ने भाष्य देखाएर जायज नाजायज कर्म गर्ने छुट दलहरुलाई छैन । यिनीहरुले सिंहदरवारबाट हिसाव नगरेृपनि दुर दराजका जनताले हिसाव गर्छन् । मिसन ८४ भन्नु पर्देन जनताले आँफै चौरासी गरिदिनेवाला छन् । संबिधानले भन्छ संसदको अंकगणित जस्ले मिलायो, उ प्रधानमन्त्री हुन्छ यो स्वभाबिक प्रक्रिया हो । तर स्वभाबिक प्रक्रियाका नाममा जसरी अस्वभाबिक वा कुनै अकल्पनिय कारण बाहेक केवल स्वार्थ मिलेको भरमा जसरी गठबन्धन फेरबदल भैरहेको छ प्रचण्डले मुखमा जतिधेरे सुशासन जपेपनि सुशासनकै भयकंर धज्जी हो । सुशासनको स्खलन यहिँबाट शुरु भएको छ ।
शीर्षनेताहरु स्वार्थ नमिलेपछि एक अर्काप्रति जुन स्तरमा गाली गलौज गर्छन्, जव स्वार्थ मिल्छ आफ्नै थुक चाट्न थाल्छन्,आफ्नो अनुकुल शब्दहरु जोडजाड गरेर । कुरा मिलाएर बोल्न ,बोली फेर्न,समयको माग जस्ता शब्दावली प्रयोग गरेर जनताले छुट दिने वाला छैनन् उनीहरुको बोली, ब्यवहार पब्लिक अडिटमा छ । सिद्धान्त, नैतिकता, जवाफदेहिता, पारदर्शिता पनि राजनीति हो पुराना शीर्ष भनिएका नेताले बुझ्न जरुरी छ । हिजो ब्यवस्था परिवर्तनका लागि, राजनीतिक लडाँइमा उनीहरुको योगदानको कदर गर्ने पर्छ, तर पछिल्ला केहि बर्ष जसरी सत्ता छिनाझम्टीमा उनीहरु नाँगो नाच नाँचिरहेका छन् किमार्थ सहि मान्न सकिँदैन ।
हिजो केपी ओलीको संगत गर्दा भेंडो भएछु भन्ने प्रचण्ड आज फेरि महाभेंडो बन्न तयार के का लागि ? सत्ता स्वार्थ। हिजो माधव नेपालको नाम लिँदा एकछिनपछि मुख कुल्ला गर्छुृ भन्ने ओली आज नेपालको दैलोमा १० सिटको भिख माग्दै के का लागि, सत्ता स्वार्थ । प्रचण्डलाई १७ हजार प्ल्स २ भनेर प्लेकार्ड बोक्ने पार्टीका अध्यक्ष गृहमन्त्री पाउन हार गुहार के का लागि ? सत्ता स्वार्थ । हिजो प्रतिपक्षमा हुँदा पनि प्रचण्डलाई बिश्वासको मत दिएर ढोक्सा किन थाप्यो कांग्रेसले ? सत्ता स्वार्थ । गठबन्धन फेरिएपछि प्रचण्ड सानसंग भन्दै छन् म भइन्जेल उथलपुथल भैरहन्छ । के का लागि उथलपुथल? केहि महिना कुर्सीमा रमाउन उथलपुथल ? राजनीतिलाई सँधै अस्थिर बनाइराख्न उथलपुथल ?
समग्रमा प्रमुख भनिएका दल कोहि पनि चोखा छैनन, १९, २० छन् । पात्र फरक होलन्, प्रवृत्ति एउटै छ ।
बालुवाटार, बालकोट, बुढानिलकण्ठमा घण्टों शीर्ष बैठक बस्छ उद्येश्य फगत भागबण्डा । डिग्री पास गरेको युवा जागिर नपाएर कीर्तिपुरमा रोइरहेको, ब्यापार चौपट भएर आत्महत्या गर्न बाध्य ब्यापारीको, दुध सडकमा पोखेर आन्दोलन गरिरहेका किसानको, महंगी अचाक्ली बढेर भान्सा चल्ने नसकेको मजदुरको ब्यथाबारे त्यहाँ छलफल हुँदैन, हुन्छ त फगत सत्ता, भागबण्डा । एउटा गठबन्ध्न भत्कियो, अर्को बन्यो जनतालाई के फरक पर्यो ? जवाफ छ ?
लाखौं युवा देशप्रति भरोसा नभएर बिदेशका भूमिमा पसिना बगाउन बाध्य छन् , पहाड लगभग खाली भैसक्यो । गाँऊमा मलामी पाउन नसक्ने अबस्था छ । देश कहाँ पुग्यो ? हेक्का छ । हेक्का छ त केवल कुर्सी । अझै पनि कथा सकिएको छैन, कथाको अध्याय मात्र सकिएको हो । दलहरुले आँफूलाई सच्याउन तयार भएनन् भने सक्किन त तयार हुनैपर्देन । किनकी रात सकिएपछि बिहान हुन्छ यो प्रकृतिको नियमनै हो । चेतना भया ।
प्रतिकृया दिनुहोस