आज : Sunday, November 22, 2026 | २०८३ मङ्सिर ७ आइतबार

जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रुरता हो : साझा पार्टी 

समाज खबर संवाददाता |

 काठमाण्डौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भत्सर्ना गरेको छ   । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेश समेत विरुद्धको यस्तो निर्णय तत्काल सच्याउन साझा पार्टीले  सरकारसंग  आह्वान पनि गरेको छ  । प्रवक्ता शरदराज पाठकले बिज्ञप्ति जारी गरि 
 वर्षौँदेखि नेपाल तथा विदेशमा गरिएको आफ्नो उपचारमा राज्यकोषबाट पटक, पटक करोडौँ खर्च गरेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार महाव्याधिका बेला नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो ‍असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क गरेर आफ्नो संवैधानिक दायित्वबाट कसरी भाग्न सक्छ?  भनि प्रश्न पनि गरेका छन् । 

 बिज्ञप्तिमा ‘सीमित दल र नेतालाई फेरी चुनाव जिताउने गरी सांसदलाई ‍अरबौँ रकम बाँड्न सरकारसँग पैसा छ। महामारीकै बिचमा जनप्रतिनिधिलाई करोडौँ रकम दशैँ भत्ता बाँड्न सरकार सक्षम छ। सत्ता निकट आसेपासेलाई उपचार खर्चका नाममा रकम लुटाउन सरकार उदार छ। राज्यलाई अरबौँ अरबको क्षति पुग्ने गरी बिचौलियासँगको साँठगाँठ र भ्रष्टाचारमा सरकार उन्मत्त छ ।’ भनिएको छ । 
 महाव्याधिका बेला जनतालाई, अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रुरता भएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस